हाइड्रोपावर व्यवसायी सुरज पाण्डेले भिजन लुम्बिनी हाइड्रोपावरसँग सम्बन्धित गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै १ हजार ७ सयभन्दा बढी लगानीकर्ताको रकम जोखिममा परेको आरोप लगाएका छन्।
पाण्डेले कम्पनीले वास्तविक आम्दानीभन्दा कागजी रूपमा नाफा देखाएको आरोप लगाउँदै यस विषयमा सम्बन्धित सरकारी निकायले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताएका छन्। उनले विशेषगरी कम्पनीको आयोजना क्षेत्रमा सडक पहुँचलगायतका सुविधा सहज हुँदाहुँदै पनि प्रतिमेगावाट लागत अस्वाभाविक रूपमा महँगो देखिएको भन्दै प्रश्न उठाएका छन्।
उनका अनुसार पोखराजस्तो तुलनात्मक रूपमा सुगम क्षेत्रमा सडक पहुँच भएको आयोजनामा प्रतिमेगावाट लागत अत्यधिक देखिनु अनुसन्धानको विषय हुन सक्छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ।
पाण्डेले कम्पनीमा थोरै कित्ता अर्थात् १०–२० हजार कित्ता शेयर भएका केही व्यक्तिहरूले समेत कम्पनीमाथि नियन्त्रण कायम गरेको आरोप लगाएका छन्। उनले सीमित व्यक्तिको प्रभावमा कम्पनी सञ्चालन हुँदा ठूलो संख्यामा रहेका लगानीकर्ताको हित प्रभावित हुनसक्ने दाबी गरेका छन्।
उनले करिब १ हजार ७ सय लगानीकर्ताको लगानी डुब्ने अवस्था सिर्जना भएको आरोप लगाउँदै कम्पनीको वित्तीय विवरण, आयोजनाको लागत, नाफा–नोक्सान तथा व्यवस्थापनमा संलग्न व्यक्तिहरूको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।
पाण्डेले आफूले उठाएका विषय आरोप मात्र नभई सम्बन्धित निकायले तथ्य र कागजातका आधारमा परीक्षण गर्नुपर्ने विषय भएको बताएका छन्। कम्पनीको वास्तविक वित्तीय अवस्था र लगानीकर्ताको रकमको सुरक्षाबारे स्पष्टता ल्याउन नियामक निकायले आवश्यक अनुसन्धान अघि बढाउनुपर्ने उनको माग छ।