काठमाडौँ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियाको सिड्नीमा ‘तीज धमाका नाइट २०८३’ आयोजना हुने भएको छ।
गुल्मी समाज अष्ट्रेलियाको आयोजनामा तथा कङ्गारू होम लोन्सको मुख्य प्रायोजनमा हुन लागेको उक्त सांस्कृतिक कार्यक्रममार्फत प्रवासमा नेपाली कला, संस्कृति, परम्परा र मौलिक तीजको भाकालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायिका मञ्जु पौडेल र देवी घर्ती मगरको विशेष सांगीतिक प्रस्तुति रहनेछ। तीजका मौलिक गीत तथा नृत्यसँगै दिदीबहिनीहरूलाई रमाइलो गर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ। युवा पुस्तालाई लक्षित गर्दै कार्यक्रममा डीजे सुशीलको विशेष डीजे सेसनसमेत राखिएको छ।
प्रवासमा रहेका नेपाली समुदायलाई आफ्नो मौलिक चाडपर्वसँग जोड्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा रातो साडी, पोते तथा परम्परागत गहनामा सजिएर सहभागी हुने वातावरण तयार गरिने आयोजकको भनाइ छ। यसले प्रवासमा रहेर पनि नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिन तथा नेपाली समुदायबीच आपसी एकता थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रम २०२६ अगस्ट २१, शुक्रबार साँझ ५ः३० बजेदेखि सिड्नीको रकडेलस्थित इन्द्रेणी फन्क्सन सेन्टरमा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुन ३० अष्ट्रेलियन डलर टिकट शुल्क तोकिएको छ, जसमा परम्परागत नेपाली खानाको व्यवस्था पनि समावेश गरिएको छ। बालबालिकाको सहभागितालाई प्रोत्साहन गर्न १० वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने ११ वर्षभन्दा माथिका बालबालिकाका लागि १५ अष्ट्रेलियन डलर शुल्क तोकिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई विभिन्न नेपाली व्यवसाय तथा संघ–संस्थाले सहयोग गरेका छन्। कङ्गारू होम लोन्स मुख्य प्रायोजक रहेको कार्यक्रममा हार्कर्ट्स ग्लेनफिल्ड | अस्ट्रेल, एए नेटवर्क टेक्नोलोजिज, प्रोक्सी, एम्पायर होम्स एन्ड कन्स्ट्रक्सन्स, भिसा एलाइन्स, पोर्टर हाउस हस्पिटालिटी ग्रुप र केआईएचई (किङ्सफोर्ड इन्स्टिच्युट अफ हायर एजुकेसन) इभेन्ट पार्टनरका रूपमा रहेका छन्। त्यस्तै, सेकुवा मिट्स, अनेस्ट एकाउन्टिङ ट्याक्स एन्ड फाइनान्स, युनिक होम्स एनएसडब्ल्यू, सदर्न एकेडेमी अफ हायर एजुकेसन, ४ नेसन्स एजुकेसन | भिसा सर्भिसेस, भाइब्स मोर्टगेज एन्ड फाइनान्स र एएसए इन्स्टिच्युट अफ हायर एजुकेसनले कार्यक्रमलाई सहयोग गरेका छन्। अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली चाडपर्व, संस्कृति, परम्परा तथा भेषभूषाको महत्वबारे जानकारी गराउन यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजक गुल्मी समाज अष्ट्रेलियाले जनाएको छ। समाजले सिड्नी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई ‘तीज धमाका नाइट २०८३’ लाई भव्य रूपमा सफल बनाउन आग्रह गरेको छ।