काठमाडौं । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ को ट्रेलर सार्वजनिक गरिएको छ।
निर्माण पक्षले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ओएसआर डिजिटलको युट्युबमार्फत फिल्मको चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।ट्रेलरमा अटिजम प्रभावित युवतीको भूमिकामा देखिएकी नीता ढुंगाना र बाल कलाकार अशोक दर्जीबीचको दिदी–भाइको आत्मीय सम्बन्ध तथा भावनात्मक संघर्षलाई केन्द्रमा राखिएको छ। दिदी–भाइबीचको अटुट प्रेम, परिवारभित्रको संवेदना र समाजले फरक क्षमताका व्यक्तिप्रति गर्ने व्यवहारलाई ट्रेलरमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।फिल्मले अटिजम भएकी छोरीलाई विद्यालय भर्ना गराउँदा परिवारले भोग्नुपर्ने विभेद, सामाजिक लाञ्छना र त्यसको पारिवारिक प्रभावलाई कथाको मुख्य विषय बनाएको निर्माण पक्षले जनाएको छ। ट्रेलरले समाजमा फरक क्षमता भएका व्यक्तिहरूले सामना गर्नुपर्ने चुनौती, अपहेलना र संघर्षलाई संवेदनशील ढंगले उठाएको संकेत गर्छ।
नीता ढुंगानाको निर्देशनमा बनेको फिल्ममा उनीसँगै अशोक दर्जी मुख्य भूमिकामा छन्। फिल्ममा दीपाश्री निरौला, सिरू विष्ट, राज पंगेनी शर्मा, राधिका कँडेल, आशा पौडेल, दीप्त प्रकाश अधिकारी र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ।फिल्मको कथा निर्देशक ढुंगानाकै रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार गरेका हुन्। फिल्ममा सुदीप बरालको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन रहेको छ।हरिहर अधिकारी निर्माता रहेको ‘पार्वती’का कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्।ट्रेलरले फिल्मलाई केवल पारिवारिक कथामा सीमित नराखी अटिजम तथा फरक क्षमता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण, विभेद र स्वीकार्यताको विषयलाई भावनात्मक रूपमा उठाउने संकेत गरेको छ।