काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकाससँगै युवाका लागि दिगो र मर्यादित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित तयार पारिएको ‘नेपाल हरित रोजगारी मिसन’ सम्बन्धी प्रतिवेदन युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसमक्ष पेस गरिएको छ ।
मन्त्रालयको समन्वयमा गठन भएको कार्यदलले अध्ययन तथा विभिन्न सरोकारवालासँगको परामर्शपछि तयार पारेको प्रतिवेदन बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवलाई हस्तान्तरण गरिएको हो ।प्रतिवेदनले आगामी पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ । हरित सीप, उद्यमशीलता र लगानीयोग्य परियोजनालाई प्रत्यक्ष रूपमा रोजगारीसँग जोड्ने रणनीति मिसनले प्रस्ताव गरेको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री यादवले वातावरण संरक्षण र आर्थिक विकासलाई सँगसँगै अघि बढाउन हरित रोजगारीको अवधारणा महत्वपूर्ण रहेको बताए । उनका अनुसार जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्दै युवाका लागि नयाँ रोजगारीका अवसर सिर्जना गर्न हरित अर्थतन्त्र उपयोगी माध्यम बन्न सक्छ ।प्रस्तावित मिसनमार्फत नागरिकलाई हरित सीपमा पहुँच पुर्याउने, वातावरणमैत्री क्षेत्रमा लगानी आकर्षित गर्ने र मर्यादित रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ । यसबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसँगै नेपालको दिगो विकास लक्ष्य हासिल गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।मिसनले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै युवालाई सीपमूलक तालिम, उद्यमशीलता र वित्तीय पहुँचसँग जोड्ने योजना अघि सारेको छ । हरित क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर विस्तार गर्ने विषयलाई पनि प्रतिवेदनले प्राथमिकतामा राखेको छ ।सरकारले प्रस्तावित मिसनलाई प्रभावकारी रूपमा अघि बढाउन सके वातावरण संरक्षणसँगै रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विकास र युवाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।