काठमाडौं । पर्यटन प्रवद्र्धनलाई समेत जोड दिँदै चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका जिल्लाको पर्यटकीय क्षेत्र साम्पदो डाँडाबाट सार्वजनिक गरिएको छ।
आगामी भदौ १२ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको तालिका समुद्र सतहदेखि करिब १ हजार ३ सय मिटर उचाइमा रहेको साम्पदो डाँडासहित ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रबाट एकैपटक सार्वजनिक गरिएको हो।लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार फक्ताङलुङ गाउँपालिकाको करिब ५ हजार ३ सय मिटर उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७ सय मिटर उचाइको सिङजेमा ताल, ओलाङचुङगोलास्थित करिब ८ सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा तथा मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेनबाट समेत खेल तालिका सार्वजनिक गरिएको हो।प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ–११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, भदौ १३ गते हुने क्वार्टरफाइनलको दोस्रो खेलमा चित्लाङ फुटबल क्लब र फिदिम स्पोर्टिङ क्लब आमनेसामने हुनेछन्। भदौ १४ गतेको तेस्रो खेलमा सातदोबाटे फुटबल क्लब र गत वर्षको विजेता सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।क्वार्टरफाइनलको अन्तिम खेलमा भने झापा–११ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। प्रतियोगिताका सेमिफाइनल खेल भदौ १६ र १७ गते तथा फाइनल खेल भदौ १९ गते हुने आयोजकले जनाएको छ।प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज मोटरसाइकल प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई समेत नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।दर्शकका लागि क्वार्टरफाइनल खेलको टिकट २ सय रुपैयाँ, सेमिफाइनलको ३ सय रुपैयाँ र फाइनल खेलको टिकट ५ सय रुपैयाँ निर्धारण गरिएको छ।आयोजकले खेलकुदसँगै ताप्लेजुङका उच्च हिमाली क्षेत्र, ताल, गुम्बा तथा अन्य पर्यटकीय गन्तव्यको प्रचार गर्ने उद्देश्यले यसपटक खेल तालिका विभिन्न पर्यटकीय स्थानबाट सार्वजनिक गरेको जनाएको छ।