काठमाडौँ। पर्सा र बारामा पछिल्ला केही सातायता सर्पदंशका घटना बढ्दै गएपछि नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको छ।
अस्पतालका अनुसार पछिल्लो समय दैनिक ७–८ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्। मंगलबार पनि सर्पको टोकाइबाट घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ। उपचाररत बिरामीमा बाराकी ५० वर्षीया रामपती देवी, पर्साकी २७ वर्षीया रिमा चौरसिया, २० वर्षीय प्रिन्स चौरसिया र ८ वर्षीया मनिषा पटेल रहेका छन्। अस्पतालका अनुसार डा। दीपक चौरसियाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले उनीहरूको उपचार गरिरहेको छ। चर्को गर्मीका कारण सर्पदंशका घटना बढेको चिकित्सकहरूले बताएका छन्। केही दिनअघि एन्टी स्नेक भेनमको अभाव हुँदा उपचार प्रभावित भएको थियो। तर, सरकारले आवश्यक मात्रामा एन्टी स्नेक भेनम उपलब्ध गराएपछि अहिले सर्पदंशका बिरामीको उपचार नियमित रूपमा भइरहेको अस्पतालले जनाएको छ।