काठमाडौँ । साउन महिनामा नेपाली फिल्म ‘गौँथली’ले २१ करोड रुपैयाँभन्दा बढीको बक्स अफिस कारोबार गर्दै चामत्कारिक सफलता हासिल गरेपछि उत्साहजनक बनेको नेपाली फिल्म उद्योग भदौ महिनामा अझ बढी चलायमान हुने भएको छ। साउनमा पाँच वटा फिल्म प्रदर्शनमा आएकोमा भदौ महिनाभर ‘मास्टर्नी’, ‘पार्वती’, ‘ककाकिकी’, ‘बाः एक योद्धा’, ‘बेहुली’, ‘पेन्सनपट्टा’, ‘अक्षरा’ र ‘माया भनेकै यस्तै होला’ गरी आठ वटा नयाँ फिल्महरू प्रदर्शनको तयारीमा रहेका छन्। अहिलेसम्मको रिलिज क्यालेन्डर अनुसार भदौको प्रत्येक शुक्रबार हलहरूमा नयाँ फिल्महरू भिड्ने निश्चित भएको छ।
भदौको पहिलो र दोस्रो साता भने एकल (सोलो) प्रदर्शनको अवसर मिल्ने भएकाले ती फिल्महरूका लागि व्यापार राम्रो गर्ने सुनौलो अवसर रहनेछ। पहिलो साता अर्थात् भदौ ५ गते अभिनेत्री प्रियङ्का कार्की निर्मित तथा आमा–छोरीको भावनात्मक सम्बन्धमा आधारित क्राइम थ्रिलर फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आउनेछ। त्यसैगरी दोस्रो साता अर्थात् भदौ १२ गते अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको र ‘अटिजम’ एवम् दिदी–भाइको प्रेम कथा समेटिएको फिल्म ‘पार्वती’ प्रदर्शन हुनेछ। भदौको तेस्रो साता (१९ गते) भने बाबुको सङ्घर्षको कथामा आधारित ‘बाः एक योद्धा’ र कमेडी ड्रामा ‘ककाकिकी’ बिच दुईतर्फी प्रतिस्पर्धा हुनेछ।
नेपाली चलचित्र क्षेत्रमा भदौ महिनाको अन्तिम साता अर्थात् भदौ २६ गते भने अभूतपूर्व ‘महाभिडन्त’ हुने भएको छ। उक्त दिन एकैसाथ चार वटा ठूला फिल्महरू ‘माया भनेकै यस्तै होला’, ‘अक्षरा’, ‘पेन्सनपट्टा’ र ‘बेहुली’ प्रदर्शनमा आउने तयारीमा छन्। रेखा थापाको निर्देशनमा जम्बो स्टारकास्ट रहेको ‘माया भनेकै यस्तै होला’, घरेलु हिंसाको कथा बोकेको ‘अक्षरा’, लाहुरे समाजको कथामा बनेको ‘पेन्सनपट्टा’ र विवाहका रीतथिति देखाइएको ‘बेहुली’ एकैदिन भिड्दा हलहरूमा शो बाँडफाँटमा सकस पर्नुका साथै दर्शकहरूमाझ ठूलो अन्योल सिर्जना हुने र निर्माताहरूलाई घाटा लाग्ने जोखिम बढेको छ।