काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग संयुक्त रूपमा सञ्चालन हुँदै आएको सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्ने बताएका छन्। दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी सैन्य अभियानमा साथ नदिएको विषयलाई समेत ट्रम्पले यसको कारणका रूपमा उल्लेख गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिका र दक्षिण कोरियाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘ठूलो मात्रामा घटाउने’ बताएका हुन्। उनले यस्ता अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका नेता किम जोङ उनसँग आफ्नो ‘धेरै राम्रो सम्बन्ध’ रहेकाले पनि अभ्यासको स्वरूप परिवर्तन गर्नुपर्ने संकेत गरेका छन्। ट्रम्पका अनुसार यी सैन्य अभ्यासमा लाग्ने खर्चको ठूलो हिस्सा अमेरिकाले व्यहोर्दै आएको छ। उनले यस्ता अभ्यासले उत्तर कोरियालाई ‘अनावश्यक र शत्रुतापूर्ण संकेत’ दिने दाबी गरेका छन्।
तर दक्षिण कोरियाले भने अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास निर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुने जनाएको छ। उत्तर कोरियाले भने ट्रम्पको पछिल्लो घोषणाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ नामक संयुक्त सैन्य अभ्यास सुरु गर्ने तयारी गरेका थिए। यसपटकको अभ्यास ११ दिनसम्म सञ्चालन हुने र अघिल्ला वर्षको तुलनामा यसको आकार करिब उस्तै रहने बताइएको थियो। अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने जनाइएको छ। यसैबीच, अमेरिकी सेनाका अनुसार उत्तर कोरियाले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्न आफ्ना सैनिक पठाएको विषयलाई समेत संयुक्त सैन्य अभ्यासको तयारीमा ध्यानमा राखिएको छ। दक्षिण कोरियामा हाल करिब २८ हजार ५ सय अमेरिकी सैनिक तैनाथ छन्।
उत्तर कोरियाले भने संयुक्त सैन्य अभ्यासको विरोध गर्दै यसलाई ‘आक्रामक युद्धको पूर्वाभ्यास’को संज्ञा दिएको छ। पछिल्लो समय उत्तर कोरियाले प्रतिबन्धित ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलाई समेत निरन्तरता दिँदै आएको छ। ट्रम्पको पछिल्लो घोषणा सन् २०१८ को घटनासँग पनि जोडिएको छ। त्यसबेला उत्तर कोरियाका नेता किमसँग आणविक निशस्त्रीकरणसम्बन्धी वार्ता अघि बढिरहेका बेला ट्रम्प प्रशासनले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित गरेको थियो। सन् २०२० मा कोभिड–१९ महामारीका कारण पनि यस्ता अभ्यासको स्तर घटाइएको थियो।
ट्रम्पले दक्षिण कोरियाले इरानलाई ‘आणविक निशस्त्रीकरण’ गर्ने अमेरिकी अभियानमा सहभागी हुन अस्वीकार गरेको विषयमा समेत असन्तुष्टि जनाएका छन्। उनले जापान, फ्रान्स र बेलायतलगायत अन्य सहयोगी राष्ट्रले पनि इरानसम्बन्धी अमेरिकी अभियानमा प्रत्यक्ष संलग्न हुन हिच्किचाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उता, दक्षिण कोरियाका राष्ट्रपतिले गत साता उत्तर कोरियासँग औपचारिक रूपमा युद्ध अन्त्य गर्ने विषयमा वार्ता अघि बढाउन प्रस्ताव गरेका थिए। सन् १९५३ मा युद्धविराम सम्झौता भए पनि दुई कोरियाबीच प्राविधिक रूपमा युद्ध अझै अन्त्य भएको छैन।