काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार केही प्रमुख सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।
कोशी प्रदेशको इलामस्थित मेची राजमार्गको इलाम नगरपालिका–९, राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र वैकल्पिक बाटो नहुँदा यात्रुहरू समस्यामा परेका छन्। यस्तै, भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीले पु¥याएको अवरोध हटाई हाल एकतर्फी रूपमा सडक सुचारु गरिएको छ।
बागमती प्रदेशका मुख्य सडकहरूमा पनि बाढी र पहिरोको जोखिम उच्च रहेको छ। बीपी राजमार्गको सिन्धुली–नेपालथोक खण्डमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ः०० देखि साँझ ६ः०० बजेसम्म भने परिस्थितिको मूल्याङ्कन गरी सवारी सुचारु गरिने प्रहरीले जनाएको छ।
मकवानपुरको कान्तिलोकपथमा पनि रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत कोदारी र लिपिङ खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने चारकिलो क्षेत्रमा एकतर्फी गाडी चलिरहेका छन्। रसुवाको त्रिशूली–मैजुङ–स्याफ्रुबेसी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि ठप्प छ।
यसैगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न राजमार्गहरूमा समेत यातायात प्रभावित भएको छ। गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ भने बागलुङको कालीगण्डकी कोरिडोर एकतर्फी रूपमा सुचारु छ। लुम्बिनी प्रदेशको रुकुम पूर्वमा मध्यपहाडी लोकमार्ग पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भेरी कोरिडोर (जाजरकोट–डोल्पा सडक खण्ड) बाढीका कारण साउन २६ गतेदेखि नै पूर्ण रूपमा ठप्प रहँदा सवारी साधन चल्न सकेका छैनन्।
