स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता पारेका २१ वर्षीय सलिम मगर मृत अवस्थामा फेला परेका छन्। पुतलीबजार नगरपालिका–३ बाडखोलाका स्थायी निवासी मगरलाई पुतलीखेतबाट स्याङ्जा बजारतर्फ आउने क्रममा अरौँदी खोलाको पुल तर्न खोज्दा तीव्र बहावले मोटरसाइकलसहित बगाएको थियो।
घटनापछि सुरु गरिएको खोजी कार्यका क्रममा उनको शव पुतलीबजार नगरपालिका–१३ स्थित गैरीजाँगर क्षेत्रमा बग्ने आँधीखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश दत्त अवस्थीले जानकारी दिएका छन्। मगर सवार ग ११ प ८१८३ नम्बरको मोटरसाइकल भने शुक्रबार घटनास्थल नजिकै फेला परेको थियो।
खोलाबाट शव बाहिर निकालेर कानुनी प्रक्रिया बमोजिम मुचुल्का तयार गरी परीक्षण (पोस्टमार्टम) का लागि प्रदेश अस्पताल स्याङ्जा पठाइएको डिएसपी अवस्थीले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।