काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
मुगुको खत्याड गाउँपालिका–११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि उनमा गम्भीर र जटिल स्वास्थ्य समस्या देखा परेको थियो।
सुत्केरी आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था अत्यन्तै जोखिममा परेपछि उनीहरूलाई तत्काल थप तथा विशेषज्ञ उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुर्खेतस्थित सुविधा सम्पन्न प्रदेश अस्पताल ल्याइएको छ।
दुर्गम एवम् भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ मन्त्रालयले यो राष्ट्रपति महिला उत्थान (हवाई उद्धार) कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ। आकस्मिक तथा जटिल प्रसूतिको अवस्थामा आमा र नवजात शिशुको जीवनरक्षा गर्न र सुरक्षित उपचारमा नागरिकको सहज पहुँच सुनिश्चित गराउन यो कार्यक्रम अत्यन्तै प्रभावकारी साबित हुँदै आएको छ।