कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेशको स्वास्थ्य सेवा सुधारलाई पहिलो प्राथमिकतामा राख्दै सर्वसाधारण नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री पदको शपथ ग्रहणपछि कार्यभार सम्हाल्दै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरका अस्पतालहरूमा डायलाइसिस सेवा विस्तार गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयानुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन वटा डायलाइसिस शैय्या थप गरिनेछ। यसैगरी, लम्कीचुहा अस्पतालमा पाँच शय्या तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालहरूमा दुई–दुई वटा डायलाइसिस शैय्या विस्तार गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यो निर्णयसँगै मिर्गौला रोगीहरूले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।
पहिलो बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ। शुक्रबार नै मुख्यमन्त्री भट्टसहित नेकपा एमालेका तर्फबाट सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएर बैठकमा सहभागिता जनाएका थिए । नयाँ सरकारले सङ्घीयताको मर्मानुसार सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने सङ्कल्प गरेको छ।