काठमाडौँ । जनआस्था मिडियाका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठको गिरफ्तारी र कार्यालयमा भएको प्रहरी छापाप्रति गम्भीर चासो व्यक्त गर्दै प्रेस काउन्सिल नेपालको टोलीले जनआस्थाको कार्यालयको स्थलगत अवलोकन गरेको छ। सञ्चार माध्यमको नियमनकारी निकाय काउन्सिलको छुट्टाछुट्टै टोलीले शुक्रबार ललितपुरको सानेपा, झम्सिखेलस्थित जनआस्था कार्यालय पुगेर घटनाबारे वस्तुस्थिति बुझेको हो।
प्रहरीले कार्यालयबाट कम्प्युटर लगायतका सञ्चार उपकरणहरू जफत गरेर लगेपछि दैनिक कार्यसम्पादन तथा समाचार प्रकाशनमा परेको कठिनाइबारे काउन्सिलका तर्फबाट मुख्य अधिकृत झविन्द्र भुसाल र सूचना अधिकारी रामशरण बोहोरासहितको टोलीले पनि कार्यालयको निरीक्षण गरेको थियो।
मुख्य अधिकृत भुसालले राज्य संयन्त्रबाट सञ्चार उपकरण कब्जामा लिएर समाचार प्रकाशनमै अवरोध पु¥याउने कार्यप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। दुवै टोलीले जनआस्थाको अनलाइन समाचार कक्ष, मल्टिमिडिया रुम र स्टुडियोको अवलोकन गर्दा अनलाइन सम्पादक राजेन्द्रप्रसाद रिमालले समग्र घटनाक्रमबारे जानकारी गराएका थिए । बुधबार बेलुका सम्पादक श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले बिहीबार बिहान जनआस्था कार्यालयमा छापा मारी समाचार कक्षबाट उपकरणहरू जफत गरेको थियो।