काठमाडौँ । सहकारी तथा लघुवित्त पीडितहरूले ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा धर्नामा बसेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट करिब २३ दिनको पैदलयात्रा पूरा गरी उनीहरू बिहीबार काठमाडौँको कलङ्की आइपुगेका थिए।
काठमाडौँ प्रवेश गरेलगत्तै शुक्रबार साँझ उनीहरू पुल्चोक पुगेर राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्नामा बसेका हुन्। विगत लामो समयदेखि आफूहरू समस्यामा परेको भन्दै उनीहरूले आफ्ना जायज मागहरू अविलम्ब पूरा गर्न र पीडितहरूलाई न्याय दिलाउन सरकारसँग जोडदार आग्रह गरेका छन्।
धर्ना कार्यक्रममा सहभागी पीडितहरूले ‘गरिबको चमेली सुनेन बालेनले’, ‘हाम्रो माग पूरा गर’, ‘चाहियो, चाहियो, न्याय चाहियो’ जस्ता नारा लगाउँदै आफ्ना पीडा र आक्रोश व्यक्त गरेका छन्। आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलन र धर्नाका कार्यक्रम निरन्तर जारी राख्ने चेतावनी उनीहरूले दिएका छन्।