काठमाडौँ । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा हातहतियारसहित प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै सम्पादकीय कक्षमा प्रहरी छिरेर सञ्चार उपकरणहरू जफत गर्ने कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको ठहर गरेको छ।
नेपालको संविधानको धारा १९ को उपधारा (२) मा कुनै समाचार, लेख, सम्पादकीय वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यम बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्ता सामग्री जफत गर्न नपाइने प्रस्ट संवैधानिक प्रावधान रहेको छ। महासङ्घले यो संवैधानिक व्यवस्थाको ठाडो उल्लङ्घन गर्दै प्रहरीले सञ्चार उपकरणहरू जफत गर्नु असंवैधानिक र गैरकानुनी कार्य भएको जनाएको छ। समाचार स्रोतमा पहुँच राख्न अपनाइएको राज्यको यस्तो शैलीले प्रेस स्वतन्त्रता र नागरिकको सूचना पाउने संवैधानिक हकमाथि प्रत्यक्ष असर पार्ने भन्दै महासङ्घले उक्त घटनाको घोर निन्दा र भत्र्सना गरेको छ।
महासङ्घले जफत गर्ने नियतले नियन्त्रणमा लिइएका सम्पूर्ण सञ्चार सामग्रीहरू अविलम्ब फिर्ता गरी संविधानको पालना गर्न र समाचार स्रोत एवम् सम्पादकीय सामग्रीको गोपनीयता पूर्ण रूपमा सुरक्षित गर्न राज्यसँग जोडदार माग गरेको छ। यसै सन्दर्भमा महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले शुक्रबार जनआस्थाको कार्यालयको निरीक्षण गरी नियन्त्रणमा लिइएका सामग्री र यसले प्रकाशनमा पारेको असरबारे जानकारीसमेत लिएको छ। महासङ्घले पत्रकारको सूचनाको पहुँचसम्म राज्य संयन्त्रको दुरुपयोग गरी गरिएको नियन्त्रणका विरुद्ध एकजुट हुन सम्पूर्ण स्वतन्त्रता पक्षधर र नागरिक समाजसँग आह्वानसमेत गरेको छ।