काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको अभावमा परेका उपभोक्ताहरूलाई लक्षित गर्दै काठमाडौँका विभिन्न पाँच तोकिएका स्थानहरूबाट एलपीजी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूमार्फत साउन ३० गते शनिबार विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमद्वारा जारी सूचनामा जनाइएको छ।
निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपि, एभरेस्ट÷सुगम, श्रीराम, सागर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास सिलिन्डरहरू बिक्री गरिनेछ। त्यसैगरी, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपि ग्यास उपलब्ध हुनेछ भने कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपि, एभरेस्ट÷सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ग्यास बिक्री–वितरण गरिनेछ। बसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपि, एभरेस्ट÷सुगम, भानु र ओम ग्यास तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपि, एभरेस्ट÷सुगम, श्रीराम, सागर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यासहरू खरिद गर्न सकिने निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक आपूर्ति प्रणालीअन्तर्गत आयल निगमबाट एल.पि. ग्यासको आयात नियमित रूपमा भइरहेको र उद्योगहरूले आफ्ना विक्रेताहरूमार्फत नियमित बिक्री–वितरण गरिरहेको भए तापनि अति आवश्यक परेका व्यक्तिहरूलाई सहजीकरण गर्न यो व्यवस्था मिलाइएको हो। ग्यास खरिद गर्न चाहने सर्वसाधारणले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिई शनिबार बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म तोकिएको बिक्री स्थलमा उपस्थित भई ग्यास सिलिन्डर प्राप्त गर्न सक्ने निगमले जननाएको छ ।