काठमाडौँ ।अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा निर्माण हुन लागेको चर्चित शृङ्खलाको सिनेमा ‘ए मेरो हजुर ५’को शुक्रबार शुभमुहूर्त गरिएको छ। निर्माण टिमले ललितपुरस्थित ऐतिहासिक पाटनको बगलामुखी मन्दिरमा विशेष पूजाआजासहित मुहूर्त सट खिच्दै सिनेमाको औपचारिक छायाङ्कन सुरु गरेको हो। बगलामुखीमा मुहूर्त सम्पन्न गरेसँगै निर्माण टोली छायाङ्कनका लागि सुदूरपश्चिमको बाजुरास्थित धार्मिक स्थल बडीमालिका मन्दिर र प्राकृतिक सुन्दरताले भरिपूर्ण खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गरेको निर्देशक थापाले जानकारी दिईन ।
नेपालको अमूल्य धार्मिक तथा प्राकृतिक सम्पदा मानिने बडीमालिका र खप्तड क्षेत्रमा सिनेमाको छायाङ्कन गर्न पाउँदा आफूहरू निकै उत्साहित र गौरवान्वित भएको निर्देशक थापाले बताईन् । हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत सङ्गम रहेको बडीमालिका धार्मिक तीर्थस्थलका साथै नेपालको पर्यटन र राष्ट्रिय पहिचानको मुख्य आधार भएको उनको भनाइ छ। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिलकुमार थापाद्वारा निर्मित यस सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले संयुक्त रूपमा तयार पारेका हुन् ।
यस सिनेमामा लोकप्रिय अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा पुनः मुख्य जोडीका रूपमा देखिनेछन्। यसअघि ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा सँगै अभिनय गरेर दर्शकको माया पाएका उनीहरूको यो तेस्रो सहकार्य हो। सिनेमामा अनमोल र सुहानाका साथै वरिष्ठ कलाकार दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायतको अभिनय रहनेछ। ‘ए मेरो हजुर’को पहिलो शृङ्खलाकी मुख्य अभिनेत्री झरना करिब २५ वर्षपछि यसै शृङ्खलामा अभिनयमा फर्किन लागेकाले दर्शकमाझ विशेष कौतुहलता जागेको छ। यो सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसर पारेर देशभरका हलहरूमा प्रदर्शनमा ल्याइनेछ।