काठमाडौँ । नयाँ संसद् भवन परिसरमा शुक्रबार आयोजित ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रममा सभामुख डीपी अर्यालले आफूले रोपेका बिरुवाको हेरचाह र संरक्षणमा आफैँ सक्रिय हुन सांसदहरूलाई आग्रह आग्रह गरेका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवन परिसरमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले कपुर, लिच्ची, साकुरा, आँप, बुद्धचित्त, एभोकाडो, रुद्राक्षलगायत विभिन्न प्रजातिका फलफूल तथा उपयोगी बिरुवाहरू रोपिएको जानकारी दिएका छन् ।
सभामुख अर्यालले प्रत्येक सांसदलाई महिनामा कम्तीमा एकपटक आफूले रोपेको बिरुवाको स्थिति अवलोकन गर्न, नियमित पानी तथा मल हाल्न र बिरुवाको पहिचान गर्न अनुरोध समेत गरेका छन् । बिरुवा हुर्किएर फल फलेपछि आफूले मात्र नभई अरूलाई पनि बाँडेर उपभोग गर्ने संस्कृति बसाल्नुपर्नेमा सभामुखले बताएका छन् ।
कार्यक्रममा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले वृक्षरोपणजस्ता रचनात्मक कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । प्रतिनिधि सभामा सधैँ दलीय विचारमा विभक्त हुने सांसदहरू यस्ता सामूहिक कार्यमा जुट्दा पार्टीगत मतभेद घट्ने र आपसी सम्बन्धसमेत प्रगाढ हुने उनले धारण व्यक्त गरे ।