काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्ति पर्याप्त रहेको भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ।
शुक्रबार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम र ग्यास उद्योग संघको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले पछिल्लो समय ग्यासको आपूर्ति बढिरहेको र तत्काल अभावको अवस्था नरहेको बताए। उनका अनुसार वर्षाका कारण कहिलेकाहीँ ग्यास बोकेका बुलेट उद्योगसम्म पुग्न ढिलाइ हुन सक्ने भए पनि समग्र आपूर्तिमा समस्या छैन। उनले उपभोक्तालाई ‘पछि नपाइएला’ भन्ने डरले अनावश्यक रूपमा ग्यास थुपार्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। सुवेदीका अनुसार नेपाल आयल निगमले ७.१ केजीको सिलिन्डरबाट पुनः १४.२ केजीको पूर्ण सिलिन्डरमा ग्यास वितरण सुरु गरेपछि बजारमा एकैपटक माग बढेको हो। माग बढेपछि केही समय वितरणमा चाप देखिए पनि आपूर्ति निरन्तर बढिरहेको मन्त्रालयले जनाएको छ।
हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन र दैनिक फिलिङ क्षमता करिब १ लाख ७५ हजार सिलिन्डर रहेको छ। मन्त्रालयका अनुसार साउन १ देखि २९ गतेसम्म २ हजार ७८१ बुलेट ग्यास आयात भएको छ। सामान्य अवस्थामा दैनिक करिब १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकामा पछिल्लो समय यो मात्रा बढेर औसत १ लाख ३२ हजार सिलिन्डर पुगेको छ। माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालय र नेपाल आयल निगमले आवश्यक समन्वय गरिरहेको सुवेदीले बताए। आगामी तीन महिनाका लागि मासिक एलपी ग्यास आपूर्ति बढाएर ६० हजार मेट्रिक टन पुर्याउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिएको उनले जानकारी दिए। ग्यास वितरणसम्बन्धी गुनासो समाधान गर्न मन्त्रालय, नेपाल आयल निगम र ग्यास उद्योग संघका प्रतिनिधि सम्मिलित टोलीसमेत गठन गरिएको छ। उक्त टोलीले साउन २० गतेदेखि काम थालेको र साउन २८ गतेसम्म ३ हजार ४४४ वटा गुनासो सम्बोधन गरेको मन्त्रालयले जनाएको छ। यस्तै, एलपी ग्यास वितरणलाई थप व्यवस्थित बनाउन सिलिन्डर ट्र्याकिङ प्रणाली विकासको काम अघि बढाइएको छ। मन्त्रालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यवसायीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ।