काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले नेपालको समग्र विकासका लागि पर्यटन क्षेत्रलाई प्रमुख आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाटा)को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न भए पनि नीतिगत र संरचनागत कमजोरीका कारण नेपालले पर्यटनबाट अपेक्षित लाभ लिन नसकेको बताए। उनले पर्यटन उद्योगका लागि आवश्यक प्राकृतिक र सांस्कृतिक स्रोत नेपालसँग पर्याप्त भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उल्लेख गरे। हवाई टिकटमा लगाइएको भ्याट, आईएटीए सम्बद्ध व्यवसायीको अधिकार तथा कमिसन र एजेन्सी डेबिट मेमो (एडीएम) लगायतका विषयमा मन्त्रालय गम्भीर रहेको उनले बताए। तत्काल भ्याट हटाउन नसकिए पनि आगामी वर्ष यस विषयलाई तार्किक निष्कर्षमा पुर्याउने गरी गृहकार्य भइरहेको उनको भनाइ छ। पर्यटन ऐन संशोधनका क्रममा निजी क्षेत्रका सुझावलाई समेट्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले प्रस्तावित विधेयकमा एड्भेन्चर टुरिजम र आरोग्य पर्यटनजस्ता महत्वपूर्ण विषय छुटेको बताए। उनले निजी क्षेत्रलाई आफ्नो व्यवसायसँग सम्बन्धित समस्या र नीतिगत विषय विधेयकले सम्बोधन गरे–नगरेको अध्ययन गर्न आग्रह गरे।
नेपालमा पर्यटनसम्बन्धी अध्ययन गराउने सरकारी संस्था नाथमलाई थप प्रभावकारी बनाउँदै सातै प्रदेशमा विस्तार गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए। आरोग्य पर्यटनलाई प्राथमिकता दिँदै यसै वर्षदेखि स्नातक र स्नातकोत्तर तहको अध्ययन सञ्चालन गर्न निर्देशन दिइएको पनि उनले बताए। नेपाल पर्यटन बोर्डको वर्तमान संरचना र कार्यशैलीबाट अपेक्षित सुधार गर्न कठिन रहेको उल्लेख गर्दै मन्त्री पौडेलले बोर्डको लगानीलाई पर्यटन पूर्वाधार तथा प्रवर्द्धनमा केन्द्रित गर्ने बताए। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था सुधार गर्न सार्वजनिक–निजी साझेदारी मोडलमा लैजानुपर्ने धारणा पनि उनले राखे। युरोपेली संघले नेपाली हवाई सेवा प्रदायकलाई हवाई सुरक्षा सूचीमा राखेको विषयलाई सरकारले गम्भीर रूपमा लिएको उनको भनाइ छ।सुशासनलाई समृद्धिको आधारका रूपमा उल्लेख गर्दै मन्त्री पौडेलले निजी क्षेत्रमैत्री नीति निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।