हुम्ला । हुम्लामा प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका–२ नावलथाङबाट ५९४ कार्टुनमा राखिएको ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा रहेको ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको हो।
बरामद मदिराको अनुमानित मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ। लुकाइछिपाइ राखिएको अवस्थामा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले बताए।
प्रहरीका अनुसार चिनियाँ मदिराको अनुमानित बजार मूल्य प्रतिमूल ५०० रुपैयाँ र बडवाइजर बियरको प्रतिबोतल ३५० रुपैयाँ रहेको छ।
बरामद गरिएको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए।