काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ। मन्त्रालयको निर्णयानुसार उक्त विधेयकलाई थप प्रभावकारी र व्यावहारिक बनाउन सर्वसाधारण तथा सम्बन्धित सरोकारवालाहरूसँग तोकिएको ढाँचामा राय–सुझाव उपलब्ध गराउन आग्रह गरिएको हो।
मन्त्रालयको कानुन शाखाले एक आह्वान जारी गर्दै जलनपीडितको उपचार, हक–अधिकार र पुनस्र्थापनाका लागि तयार पारिएको मस्यौदा अध्ययन गरी आ–आफ्नो प्रतिक्रिया पठाउन अनुरोध गरेको छ। सरोकारवालाहरूबाट प्राप्त हुने बहुमूल्य राय, सुझाव र टिप्पणीहरूलाई विधेयकको परिमार्जन तथा आगामी कानुनी प्रक्रिया अगाडि बढाउने क्रममा प्राथमिकताका साथ समेटिने मन्त्रालयले जनाएको छ।
स्वास्थ्यसम्बन्धी आवश्यक ऐन, नियमावली तर्जुमा तथा परिमार्जनको जिम्मेवारी सम्हाल्दै आएको मन्त्रालयको कानुन शाखाले सुझाव पेस गर्नका लागि सात दिनको समयसीमा तोकेको छ। जसअनुसार इच्छुक व्यक्ति वा संस्थाले आगामी भदौ ३ गतेसम्म आफ्नो राय, सुझाव वा टिप्पणी मन्त्रालयमा पठाइसक्नुपर्नेछ।