काठमाडौँ । अविरल वर्षाका कारण मादीखोलामा आएको भीषण बाढीले कास्की र पर्वत जोड्ने दुई वटा धातुका पुल बगाएको छ। राति २ः१५ बजे आएको बाढीले कास्की र पर्वत जिल्लालाई जोड्ने ती पुलहरू बगाएको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा अवस्थित मोदीखोलाको बीच भागमा रहेको प्रसिद्ध अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्न निर्माण गरिएका पर्वत र कास्की दुवैतर्फका धातुका पुलहरू बाढीले बगाएको हो। बाढीको तीव्र बहावले मन्दिरको आधा भागमा समेत ठुलो क्षति पु¥याएको छ।
पुल बगेपछि मन्दिर क्षेत्रमा १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना फसेका छन्। उनीहरूको सुरक्षित उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट ४ जना रोप रेस्क्यु विज्ञ र ३ जना गोताखोरसहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको डीएसपी थापाले बताएका छन् ।