काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेकाले शुक्रबार अधिकांश भूभागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही तराई भूभागमा पनि चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। बागमती प्रदेशको पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैगरी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।