बुटवल । रोल्पाको थबाङ गाउँपालिका–५ उवास्थित कोटलबारामा बुधबार राति गएको पहिरोमा परी हालसम्म १० जनाको शव फेला परेको छ। अविरल वर्षासँगै लेदो, ठुला ढुङ्गा र मुढासहित आएको पहिरोले कोटलबाराका ९ वटा घर, १ वटा घुम्ती किराना पसल, २ वटा गोठ र १ वटा चर्च गरी १२ वटा संरचना पुरेर बगाउँदा ठुलो मानवीय तथा भौतिक क्षति भएको हो। पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ।
प्रहरीका अनुसार पहिरोमा परी ज्यान गुमाउनेहरूमा थबाङ–५ कोटलबाराका १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर, ३८ वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर र ५ वर्षीय अशोक पुन मगर रहेका छन्। पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरको बुटवलमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बल बहादुर पुन मगर, ६१ वर्षीय लिल बहादुर पुन मगर, ६६ वर्षीया मनि पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती अझै सम्पर्कविहीन रहेका छन्। यसैबिच, प्युठानको माडीखोलाका विभिन्न स्थानमा ५ वटा बेवारिसे शव फेला परेकोमा ३ वटा शव मृतक जुनकुमारी, अशिम र अशोकको भएको पुष्टि भइसकेको छ भने बाँकी २ वटा शवको पहिचान खुल्न बाँकी छ।
घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, रेडक्रस र स्थानीयवासी उद्धारमा खटिएका छन्। निरन्तरको वर्षा र दुई ठाउँमा पुनः पहिरो गएर बाटो अवरुद्ध हुँदा खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। घटनाप्रति लुम्बिनी प्रदेश सरकार तथा विभिन्न राजनीतिक दलहरूले दुःख व्यक्त गर्दै उद्धार र राहतलाई तीव्रता दिन आग्रह गरेका छन्।