वीरगन्ज । विद्युत्को तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जना मिस्त्री गम्भीर घाइते भएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ स्थित राधेमाईमा करेन्ट लागेर घाईते भएका छन् । स्थानीयका अनुसार नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित कर्मचारीले लाइन मिलाइदिएपछि तार मर्मतका लागि पोलमा चढेका मिस्त्री काम गरिरहेकै अवस्थामा एक्कासी करेन्टको सम्पर्कमा आएका हुन्।
करेन्ट लागेलगत्तै ती मिस्त्री विद्युत्को तारमै अड्किएका थिए। घटनालगत्तै स्थानीय र उद्धार टोलीले उनलाई तत्काल पोलबाट निकालेर उपचारका लागि नजिकैको अस्पताल लगेका छन्। हाल उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै स्थानीयले जनाएका छन्।
विद्युत् मर्मत तथा पोलमा तार जोड्ने कार्य अत्यन्तै संवेदनशील हुने भएकाले मुख्य लाइन पूर्ण रूपमा काटिएको सुनिश्चित नगरी काम गराउँदा यस्ता गम्भीर दुर्घटना हुने गरेको भन्दै स्थानीयवासीले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। स्थानीयले यस घटनाबारे विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायले तत्काल निष्पक्ष छानबिन गर्नुपर्ने र मर्मतका क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना भए÷नभएको यकिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।