काठमाडौँ । मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–१४ दुईधारेस्थित श्री नरसिंह भगवान मन्दिरको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित तत्कालीन स्थानीय निकायका कर्मचारी, मालपोतका अधिकारी, मन्दिरका पुजारी र जग्गा कारोबारीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
अनुसन्धानका क्रममा साविक भादगाउँ सिनवारी गाविस–४क को कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा प्रतिवादीहरूको आपसी मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी व्यक्तिको नाममा नामसारी गरिएको खुलेको छ। साविक सिङ्गिया गाविस र धरान नगरपालिका वडा नम्बर १४ कार्यालयबाट २०६४ सालमा झुट्टा विवरणको सर्जमिन मुचुल्का र नाता प्रमाणित प्रमाणपत्र बनाई मालपोत कार्यालय सुनसरीमार्फत २०६५ जेठ २१ गते मन्दिरका पुजारी टिर्रु चौधरीको नाममा नामसारी गरिएको थियो। उक्त सार्वजनिक जग्गाको आव २०८२÷८३ को न्यूनतम मूल्याङ्कन अनुसार ३६ लाख १० हजार रुपैयाँ कायम गरी सोही बराबरको बिगो असुलउपर र हदैसम्मको कैद तथा जरिवानाको मागदाबी लिइएको छ।
आयोगले तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, साविक सिङ्गिया गाविसका तत्कालीन अध्यक्ष÷सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन अधिकृत सुशील वैद्य, शाखा अधिकृत तुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की र धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आलेविरुद्ध ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाहीको माग गरेको छ। साथै, कागजपत्र मिलाइदिए बापत पुजारी टिर्रु चौधरीबाट ५ हजार रुपैयाँ घुस लिने तत्कालीन गाविस सचिव कपिलमणि दाहाललाई थप रिसवत कसुरमा समेत मुद्दा चलाइएको छ। मन्दिरका पुजारी टिर्रु चौधरी र जग्गा कारोबारी पंकज घिमिरेलाई मुख्य कसुरदार सरह मतियारका रूपमा सजायको मागदाबी गरिएको छ भने हडपिएको सार्वजनिक जग्गा भागमैन थरूनीको नामबाट जफत गरी पुनः मन्दिरकै नाममा ल्याउन माग गरिएको छ।