काठमाडौँ । वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा पक्राउ परेका ‘जनआस्था’का प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई तीन दिन हिरासतमा राखी अनुसन्धान अगाडि बढाउन प्रहरीलाई अनुमति दिएको हो।
बुधबार ललितपुरको बागडोलबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँमा उहाँविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा औपचारिक जाहेरी दर्ता भएकाले सोही आधारमा कानुनी प्रक्रिया अगाडि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक समाचार सामग्री प्रकाशन भएको थियो। उक्त समाचारमा नाम जोडिएकी युवतीले आफ्नो गोपनीयता भङ्ग भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि पत्रकार श्रेष्ठविरुद्ध कानुनी कारबाही सुरु गरिएको हो।