काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू फेरि शक्ति हासिल गर्न नभई राष्ट्रिय एकता र सहकार्यलाई बलियो बनाउन स्वदेश फर्किएको बताएका छन्।
स्वास्थ्य उपचारपछि बिहीबार नेपाल फर्किएका देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै स्वास्थ्यबारे चासो, चिन्ता र स्वास्थ्यलाभको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन्। उनले नेपाली कांग्रेसले युवा पुस्ताले उठाएका परिवर्तनका मागलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। गत भदौमा भएको जेनजी आन्दोलनका जायज माग सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि देउवाले स्मरण गरेका छन्। परिवर्तनको नाममा विगतको संघर्ष र योगदानलाई भुल्न नहुने भन्दै उनले लोकतन्त्र, स्वतन्त्रता र विभिन्न समुदायको अधिकारका लागि आफ्नो पुस्ताले गरेको संघर्षको सम्मान गर्नुपर्ने बताएका छन्। देउवाले वर्तमान सरकारले जनतामा देखिएको परिवर्तनको चाहना सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्नुपर्ने उनको भनाइ छ।
कांग्रेसभित्र देखिएको असहमति र निराशालाई पनि तत्काल सम्बोधन गर्नुपर्ने उनले बताएका छन्। पार्टी एकताबद्ध भएर अन्य राजनीतिक दलसँग सहकार्य गर्दै राष्ट्रियता र लोकतन्त्रलाई थप मजबुत बनाउनुपर्ने उनको धारणा छ। वर्तमान संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै देउवाले यसको संरक्षण तथा आवश्यक संशोधन राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने बताएका छन्। युवा पुस्तालाई नेतृत्वमा अघि बढ्न दिनुपर्ने भए पनि पाका तथा अनुभवी पुस्तालाई पूर्ण रूपमा नकारात्मक रूपमा चित्रण गर्नु उचित नहुने उनको भनाइ छ। आफ्नो लामो राजनीतिक अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नु आफ्नो दायित्व भएको देउवाले उल्लेख गरेका छन्। अन्त्यमा देउवाले आफू ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको’ स्पष्ट पारेका छन्। उनले प्रतिशोधभन्दा मेलमिलापको बाटो रोज्नुपर्ने र राष्ट्रिय एकताका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।