काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ८२ वटा मोटरसाइकल प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
विभिन्न समयमा हराएका तथा चोरी भएका मोटरसाइकलको खोजी गर्ने क्रममा फेला परेका सवारीसाधनको पहिचान गरी प्रहरीले बिहीबार सम्बन्धित धनीलाई बुझाएको हो। ट्राफिक प्रहरीका अनुसार पीडित सहायता इकाइमा परेको निवेदनका आधारमा खोजी गर्दा साउन महिनामा मात्रै ८९ वटा हराएका सवारीसाधन फेला परेका थिए। सो अवधिमा सवारीसाधन हराएको भन्दै १५६ वटा निवेदन दर्ता भएका थिए। अनुसन्धानका क्रममा चोरीमा संलग्न रहेको आशंकामा १४ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूसँग सम्बन्धित ७ वटा दुईपांग्रे सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ।