काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि पत्रकार तथा सञ्चारकर्मीहरूले विरोध जनाएका छन्। समाचार प्रकाशनको विषयलाई लिएर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूले तत्काल रिहाइको माग गरेका छन्।
श्रेष्ठलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। हाल उनलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको जनाइएको छ। जनआस्था साप्ताहिकमा प्रकाशित एक समाचारलाई लिएर उनलाई पक्राउ गरिएको बताइएको छ। श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेसहित पत्रकार तथा सञ्चारकर्मीहरू काठमाडौं प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसरबाहिर प्रदर्शन तथा नाराबाजी गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरे।
विरोधमा सहभागी पत्रकारहरूले समाचार प्रकाशनकै विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्। प्रकाशित समाचारप्रति आपत्ति भए कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न सकिने उनीहरूको भनाइ छ। पत्रकार महासङ्घलगायतका संस्थाले पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रतामाथि नकारात्मक असर पार्ने भन्दै सरकार तथा सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले पत्रकार तथा सञ्चारकर्मीलाई निर्भीक रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको संरक्षण गर्न माग गरेका छन्।