काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रोपटक यूईएफए सुपर कपको उपाधि जितेको छ। अस्ट्रियाको साल्जबर्गमा बुधबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलमा पीएसजीका लागि डिजिरे डुएले दोस्रो हाफमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाएका हुन्। खेलको ६१औँ मिनेटमा ओस्मान डेम्बेलेको पासमा डुएले गोल गरेका थिए, जसलाई सुरुमा अफसाइड दिइए पनि भिडियो समीक्षा (भीएआर) मार्फत मान्यता दिइएको थियो।
खेलको २०औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाको शक्तिशाली प्रहारमार्फत पीएसजीले अग्रता लिएको भए पनि एस्टन भिल्लाका १७ वर्षीय स्ट्राइकर ब्रायन माड्जोले उत्कृष्ट भलीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। दर्तासम्बन्धी विवाद समाधान भएपछि खेल्ने अनुमति पाएका माड्जो यूईएफए सुपर कपको फाइनलमा सुरुआती टोलीमा परेर गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीसमेत बनेका छन्। यस जितसँगै पीएसजी सन् २०१६ र २०१७ मा लगातार दुईपटक उपाधि जित्ने रियल मड्रिडपछि लगातार दोस्रोपटक सुपर कप जित्ने पहिलो टोली बनेको छ।
युरोपेली फुटबल सिजनको सुरुआती प्रमुख प्रतिस्पर्धाका रूपमा लिइने यस खेलमा सोमालियाका रेफ्री ओमार आर्टानले मुख्य निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ सुपर कपको फाइनल सञ्चालन गर्ने पहिलो गैर–युरोपेली रेफ्री बन्नुभएको छ। च्याम्पियन्स लिग विजेता पीएसजीका लागि यो नयाँ सिजनमा सम्भावित ६ उपाधिमध्येको पहिलो सफलता हो।