काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। उनी दिउँसो करिब १२ः३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको बताइएको छ।
जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा गम्भीर घाइते भएपछि उपचारका लागि सिंगापुर पुगेका देउवा उपचारपछि नेपाल फर्किन लागेका हुन्।सरकार निकट स्रोतका अनुसार देउवाको नेपाल आगमनका क्रममा कुनै किसिमको अवरोध नहुने गरी समझदारी बनेको छ। यस विषयमा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जानकार रहेको स्रोतको दाबी छ। देउवा काठमाडौं आइपुगेपछि सुरक्षाकर्मीको विशेष सुरक्षाबीच महाराजगञ्जस्थित निजी निवाससम्म पुर्याउने तयारी गरिएको छ।
यसैबीच, देउवा दम्पती सिंगापुरमा उपचाररत रहेकै समयमा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी रोक्न माग गर्दै वारेसमार्फत दायर गरिएको रिटमा सर्वोच्च अदालतले देउवा र उनकी पत्नी डा. आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। देउवा स्वदेश फर्किने भएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको एक समूह उनलाई स्वागत गर्न विमानस्थल पुग्ने तयारीमा रहेको बताइएको छ।