काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न सुदूरपश्चिम प्रदेशबाट ठुलो संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरू काठमाडौँ आइपुगेका छन्। नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेशबहादुर चन्दको नेतृत्वमा कांग्रेसका नेता–कार्यकर्ताहरू धनगढीबाट जहाज चढेर काठमाडौँ आएका हुन्।
करिब एक वर्षपछि देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुन काठमाडौँ फर्किन लागेकाले उनको स्वागतका लागि सुदूरपश्चिमका करिब सबै जिल्लाबाट काठमाडौँ आउने क्रम जारी रहेको छ। धनगढी विमानस्थलबाट काठमाडौँ प्रस्थान गर्नुअघि नेता–कार्यकर्ताहरूले ‘शेरबहादुर देउवा जिन्दावाद’ भन्दै नाराबाजीसमेत गरेका थिए।
नेपाली कांग्रेस अछामका जिल्ला सदस्य एवं सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागका सदस्य पृथ्वीबहादुर शाहका अनुसार विमान पूरै भरिने गरी सुदूरपश्चिमका नेता–कार्यकर्ताहरू काठमाडौँ प्रस्थान गरेका हुन्। उक्त टोलीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का (रवि) र बझाङको छबिसपाथिभेरा गाउँपालिकाका कांग्रेस सभापति पाण्डपबहादुर थापालगायतका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको छ।