काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलहरूमा प्रस्तुत गरिने अभिव्यक्ति मर्यादित र संवेदनशील हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले राष्ट्रसेवक कर्मचारीहरूको निष्ठा र प्रहरी संस्थाको गरिमामा आँच आउने गरी संसदीय समितिमा हुने टिप्पणीप्रति असन्तुष्टि व्यक्त गरे ।
बैठकमा सांसद खगेन्द्र सुनारलगायतका सांसदहरूले नेपाल प्रहरीको भूमिकामाथि आरोप लगाएपछि जवाफ दिँदै महानिरीक्षक कार्कीले वर्षौँदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिहरूमाथि विनाआधार जथाभावी आरोप लगाउने प्रवृत्तिले कर्मचारीको कार्यसम्पादन र मनोबलमा गम्भीर असर उर्ने बताए । प्रहरी प्रशासनमाथि पर्ने विभिन्न उजुरी र निवेदनहरूको प्रसङ्ग उल्लेख गर्दै उनले सबै विषय र निवेदनलाई एउटै दृष्टिकोणले हेर्न नहुने स्पष्ट पारे ।
संसदीय समितिजस्तो जिम्मेवार स्थानमा बसेर बोलिने शब्द र प्रस्तुत गरिने व्यवहारमा शिष्टता हुनुपर्नेमा जोड दिँदै उनले संस्थागत मर्यादालाई आत्मसात् गर्न सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराए । “आजसम्म निष्ठापूर्ण काम गरेको मान्छेलाई ल्याएर जे मन लाग्यो त्यही भन्ने स्थान यो होइन होला, कुनै पनि ठाउँको सामान्य मर्यादा त हुन्छ,“ उनले बताए । तथ्यहीन आरोपले शान्ति सुरक्षामा खटिने प्रहरीको मनोबल खस्किने भएकाले छलफलका क्रममा संयमता र मर्यादा कायम राख्न उनले आग्रह गरेका छन् ।