काठमाडौँ । नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठक अझै केही दिन लम्बिने भएको छ। पार्टीभित्रको इतर समूहले आयोजना गर्न लागेको तीन दिने राष्ट्रिय भेलालाई लक्षित गर्दै संस्थापन पक्षले बैठक लम्ब्याउने आन्तरिक रणनीति बनाएको हो। इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राजधानीमा राष्ट्रिय भेलाको आह्वान गरेको छ। सोही भेला नसकिँदासम्म सानेपाको बैठक जारी राखेर केन्द्रीय सदस्यहरूलाई उक्त भेलामा जानबाट रोक्ने वा व्यस्त बनाउने संस्थापनको भित्री तयारी रहेको एक पदाधिकारीले जानकारी दिएका छन्।
संस्थापन पक्षले इतर समूहको भेलाको ’काउन्टर’ गर्न र उनीहरूको शक्ति प्रदर्शनलाई छायामा पार्नका लागि केन्द्रीय समितिको बैठक लम्ब्याएको देखिएको छ। इतर समूहको राष्ट्रिय भेला सम्पन्न नभएसम्म केन्द्रीय समितिको बैठक नटुङ्ग्याउने र बैठकका मुख्य निर्णयहरू पनि सोही अवधि सकिएपछि मात्रै औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी संस्थापन पक्षको रहेको छ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार १५३ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये हालसम्म ६२ जना सदस्यहरूले मात्र आफ्ना धारणा राखिसकेका छन्। अझै ८० भन्दा बढी केन्द्रीय सदस्यहरूले धारणा राख्न बाँकी रहेकाले बैठक स्वाभाविक रूपमा केही दिन लम्बिने उहाँको भनाइ छ। हाल जारी बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना भनाइ राख्न ७ मिनेटको समय छुट्याइएकाले संस्थापन पक्षलाई साउन ३१ गतेसम्म बैठक सजिलै लम्ब्याउन अनुकूल वातावरण बनेको छ।