काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ग्यास तथा दैनिक उपभोग्य खाद्यवस्तुको आपूर्तिमा देखिएको समस्या समाधानका लागि योजना बनाएर अघि बढ्न सरकार तथा सम्बद्ध निकायहरूलाई आग्रह गरेका छन् । समितिले बुधबार आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभापति अन्सारीले बजारमा आपूर्ति व्यवस्थापनलाई तत्काल सहज बनाउँदै दीर्घकालीन रूपमा थप व्यवस्थित र सुदृढ प्रणाली निर्माण गर्नुपर्ने बताए ।
छलफलका क्रममा अन्सारीले पेट्रोलियम पदार्थ तथा ग्यासको कालोबजारी गर्ने पम्प, ढुवानी गर्ने ट्याङ्कर र ग्यास डिलरहरूमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । कालोबजारी तथा बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठग्ने पम्प, ट्याङ्कर तथा ग्यास डिलरहरूको इजाजतपत्र (लाइसेन्स) सम्म खारेज गर्न सकिने गरी अधिकतम कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।
समितिले आपूर्ति व्यवस्थासँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बोलाएर गहन छलफल गरेपछि बजारमा सुधारका केही सकारात्मक संकेतहरू देखिएको सभापति अन्सारीले जानकारी गराए । सर्वसाधारण उपभोक्ताहरूले सहज र सुलभ रूपमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू पाउन सक्ने वातावरणको सुनिश्चितताका लागि सम्बन्धित निकायहरूलाई बजारमा निरन्तर अनुगमन गर्न र प्रभावकारी कदमहरू चाल्न उनले आग्रह गरे ।