काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत र आत्महत्या प्रयासपछि गम्भीर अवस्थामा पुगेका एक युवा रहेका छन्।
मन्त्रालयका अनुसार सोलुखुम्बुकी शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण सुत्केरी हुन नसकी स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेपछि चिकित्सकको सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो। उहाँलाई हवाई उद्धारमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली) ल्याई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार गराइँदै छ। त्यसैगरी, आत्महत्याको प्रयासपछि गम्भीर स्वास्थ्य समस्या उत्पन्न भई सल्ले अस्पतालमा उपचाररत अर्का युवालाई पनि थप सघन उपचार सेवा उपलब्ध गराउन चिकित्सकीय सिफारिसबमोजिम उद्धार गरी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ल्याइएको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती, सुत्केरी तथा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकहरूलाई समयमै अस्पताल पु¥याउन मन्त्रालयले यो सेवा निरन्तर सञ्चालन गर्दै आएको छ। आपत्कालीन अवस्थामा नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हवाई उद्धार कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको मन्त्रालयले जनाएको छ।