काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित फलफूल मण्डीबाट स्रोत नखुलेको ७६ लाखभन्दा बढी नेपाली र तीन लाखभन्दा बढी भारतीय नगदसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान महाशाखा कालीमाटी र प्रहरी वृत्त कालीमाटीको संयुक्त टोलीले अवैध हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भई हाल कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह तुरहालाई पक्राउ गरेको हो।
साउन २६ गते दिउँसो करिब १ः४० बजे कुलेश्वरस्थित ‘आँचल फ्रुट सेन्टर’ पसल तथा साहको डेरा कोठामा प्रहरीले छापा मारेको थियो। खानतलासीका क्रममा प्रहरीले स्रोत नखुलेको ७६ लाख २७ हजार ३०० नेपाली रुपैयाँ र ३ लाख ४ हजार ३०० भारतीय रुपैयाँ फेला पारी बरामद गरेको छ।
अवैध रूपमा हुण्डीको आर्थिक कारोबार गरेको अभियोगमा पक्राउ परेका साहलाई नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन् ।