काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५ देखि २० वर्षका लागि बलियो आधार तयार गर्ने काम गरिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले सरकार गठन भएको चार महिना अवधिमा तत्काल देखिने खालका ठूला काम नभएको जस्तो देखिए पनि दीर्घकालीन रूपमा बलियो जग निर्माण गर्ने काम भइरहेको बताएका हुन्। उनले संसद्मा युवाको उल्लेख्य सहभागिता र ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताए। रास्वपा ‘विकल्प खोज्ने’ नभई आफैँ विकल्प बन्ने र भविष्यमा ‘निर्विकल्प शक्ति’का रूपमा स्थापित हुने उद्देश्यसहित अघि बढिरहेको लामिछानेको भनाइ थियो। युवा सांसद तथा मन्त्रीहरूका लागि पदमा रमाउने समय नभई परिणाममुखी भएर काम गर्ने बेला भएको उनले बताए। युवा नेतृत्वले जिम्मेवारीअनुसार काम गर्न नसके वा आफ्नो दायित्वबाट पन्छिए भविष्यमा ‘अनुभवहीन युवाबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक भाष्य निर्माण हुन सक्ने भन्दै लामिछानेले गम्भीर भएर काम गर्न आग्रह गरे। उनले युवाहरूले प्राप्त अवसरलाई परिणाममा बदल्नुपर्ने र देशको भविष्यप्रति जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए।