काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको संरक्षण गर्दै सामाजिक न्याय, समानता, सुशासन र समृद्धिको आधार बलियो बनाउन युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताएका हुन्। उनले युवाहरूको संघर्ष, साहस र योगदानकै कारण मुलुकमा विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारीमा पनि युवाको भूमिका महत्वपूर्ण हुने बताए। प्रचण्डले युवाका लागि पर्याप्त अवसर सिर्जना गर्दै उनीहरूको क्षमता, सीप र प्रतिभालाई राष्ट्र निर्माणमा उपयोग गर्न सबै पक्षले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा उनले देशभरका सम्पूर्ण युवालाई शुभकामनासमेत व्यक्त गरेका छन्।