काठमाडौँ । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ भने एक बालिका अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो। उनीहरू मंगलबार दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए। सोही घटनामा बेपत्ता भएकी १० वर्षीया रौशन खातुनको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। बालबालिका नदीमा डुबेको खबर पाएलगत्तै स्थानीय सुरक्षा निकायको टोली खोजी तथा उद्धारमा परिचालन भएको थियो। इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा ७ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १४ जनासहितको संयुक्त टोलीले बेपत्ता बालिकाको खोजी गरिरहेको छ।