काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन्। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका दर्जनभन्दा बढी सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका छन्। बागमती प्रदेशअन्तर्गत बीपी राजमार्गको खुरकोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। यसैगरी हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन निषेध गरिएको छ।
पहिरोका कारण बागमती र कोशी प्रदेशका धेरैजसो सडक खण्ड ठप्प भएका छन्। सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने रसुवाको खाल्टेमा बाढी आएका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड बन्द भएको छ। उता कोशी प्रदेशको इलामस्थित राजदुवालीमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बने पनि वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको छ। यस्तै भोजपुरको बोखिममा मध्यपहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ।
गण्डकी र कर्णाली प्रदेशमा पनि बाढी–पहिरोले सवारी आवागमनमा ठुलो बाधा पु¥याएको छ। बागलुङको बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर र लमजुङको बिमिरेभञ्ज्याङमा मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्। कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा आएको भीषण बाढीका कारण भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। देशभरका मुख्य सडकहरू अवरुद्ध हुँदा हजारौँ यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन् भने सम्बन्धित निकायहरू सडक खुलाउने प्रयासमा जुटिरहेका छन्।