काठमाडौँ । आज देशभर विभिन्न चेतनामूलक तथा रचनात्मक कार्यक्रमहरूको आयोजना गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकांक्षा’ तय गरिएको छ। समाज तथा राष्ट्र निर्माणमा युवा वर्गको भूमिकाको महत्त्वलाई उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि हरेक वर्ष अगस्ट १२ तारिखका दिन यो दिवस मनाउन थालिएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाकेन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण र कार्यान्वयनमा युवा सहभागिता बढाउने, लगानी अभिवृद्धि गर्ने तथा युवामैत्री शासन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ यो दिवस मनाइने गरिन्छ।
दिवसका अवसरमा आज काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहको आयोजना गरिएको छ। मूल समारोहमा नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवद्र्धनका विषयमा उच्चस्तरीय प्यानल छलफलका साथै सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनीसमेत राखिँदै छ। यसअघि बिहान भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौड आयोजना गरिएको थियो। कार्यक्रमका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट ६ वटा व्यवसायका साथै सातै प्रदेशका उत्कृष्ट युवा उद्यमीहरूलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको छ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गत साउन १ गते बसेको बैठकले दिवसलाई भव्यताका साथ मनाउने निर्णय गरेको थियो। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ अर्थात् कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको छ। अत्यधिक जोस, जाँगर र क्षमता भएको यस युवा शक्तिलाई सांस्कृतिक, भौगोलिक र प्रविधिजन्य विविधताका बिच एकताबद्ध गराउँदै देशको समृद्धितर्फ परिचालन गर्न यो दिवसले प्रेरणा दिने अपेक्षा गरिएको छ।