काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेज वैवाहिक बन्धनमा बाँधिएका छन्। पोर्चुगलको कास्काइसमा मंगलबार आयोजित एक निजी नागरिक समारोहबिच उनीहरूले विवाह गरेको पिपल म्यागजिनले जनाएको छ। विवाह सम्पन्न भएपछि रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको र दुवैले विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गर्दै आफ्नो खुसी सेयर गरेका छन्।
सन् २०१६ मा रोनाल्डो रियल मड्रिडमा कार्यरत रहँदा मड्रिडस्थित गुच्चीको सोरुममा कार्यरत जर्जिनासँग उहाँको पहिलो भेट भएको थियो। पहिलो भेटमै विशेष सम्बन्ध बनेको र एक दशक लामो सहयात्राका क्रममा उनीहरूले पाँच सन्तानको परिवार बनाइसकेका छन्। यसअघि गत नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तामा रोनाल्डोले विश्वकपपछि विवाह गर्ने संकेत गर्नुभएको थियो। यद्यपि सन् २०२६ को विश्वकपको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग पराजित भएपछि रोनाल्डोको विश्वकप यात्रा टुंगिए पनि उहाँले लगातार छ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको नयाँ कीर्तिमान भने कायम गर्नुभएको छ।
अहिले ४१ वर्षमा प्रवेश गर्नुभएका पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा ६७ करोड ८० लाखभन्दा बढी फलोअर्ससहित विश्वकै सबैभन्दा बढी पछ्याइएका व्यक्ति हुनुहुन्छ। त्यस्तै ३२ वर्षीया जर्जिना पनि हाल सफल मोडल तथा सामाजिक सञ्जाल इन्फ्लुएन्सरका रूपमा परिचित हुनुहुन्छ। सन् २०२५ अगस्टमा ठुलो हिराको औँठीसहित इन्गेजमेन्टको घोषणा गर्नुभएका रोनाल्डोले जर्जिनाको चाहनाअनुसार भव्य समारोहको सट्टा निकै सादगी र निजी रूपमा विवाह सम्पन्न गर्नुभएको हो। रोनाल्डोले विवाहले जीवनको सम्बन्धमा खासै ठुलो भिन्नता नल्याउने तर यो जीवनको एक सुन्दर नयाँ अध्याय मात्र भएको बताउनुभएको छ।