काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। यसकै प्रभावका कारण अहिले देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ। त्यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहे पनि कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशका साथै देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहनेछ। दिउँसो देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज रातिको समयमा देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूका साथै मधेश प्रदेशका एक–दुई स्थानमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।