रसुवा । पासाङ ल्हामु राजमार्गको धुन्चे सडकखण्डमा प्रहरीले भालुको जस्तो देखिने खुट्टा (आखेटोपहार) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। वन्यजन्तुको अङ्ग अवैध रूपमा लुकाई–छिपाई ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाइँकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेस्थित सडकमा जाँच गर्ने क्रममा उक्त वस्तु बरामद गरेको हो।
प्रहरीका अनुसार गत्लाङबाट त्रिशुलीतर्फ जाँदै गरेको प्र. ३–०१–००५ ख ९७८३ नम्बरको टिपर गाडीलाई रोकेर रीतपूर्वक खानतलासी गर्दा गाडीको हाइड्रोलिक पाइपमुनि रातो डोरीले बाँधेर लुकाएको अवस्थामा भालुको जस्तो देखिने दुई वटा खुट्टा फेला परेको थियो। घटनामा संलग्नताको आरोपमा टिपर चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ५ बस्ने २९ वर्षीय गोम्बो तामाङ र सोही गाउँपालिका वडा नं. ३ बस्ने २४ वर्षीय तोप्देन तामाङ रहेका छन्। प्रहरीले बरामद आखेटोपहार र टिपरसहित दुवै जनालाई कानुन बमोजिम आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि धुन्चेस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक डिल्ली राज सापकोटाले जानकारी दिएका छन् ।