काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका थप तीन जना नेपाली आरोहीहरूको शव स्वदेश ल्याइएको छ। किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एयरवेजको विमानमार्फत काठमाडौँ ल्याइएको हो। स्वदेश ल्याइएका तीनै जनाको शवलाई नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ।
गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपहिरोमा परेर उनीहरू तीन जनासहित विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, नवाङ थिन्डु शेर्पासहित ६ जना नेपाली र अन्य ४ जना विदेशी आरोही गरी कुल १० जनाको दुःखद निधन भएको थियो।
दिवङ्गत आरोहीहरूमध्ये युक्ताको शव गत साउन २१ गते नै नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि गरिसकिएको छ। यस्तै, कीर्तिमानी आरोही निर्मल पुर्जाको परिवार बेलायतमा बसोबास गर्दै आएकाले उनको अन्त्येष्टि लन्डनमै गरिने जनाइएको छ। दुर्घटनामा ज्यान गुमाएका अर्का आरोही नवाङ थिन्डु शेर्पाको शव भने कठिन भौगोलिक बनावट र प्रतिकूल मौसमका कारण अहिलेसम्म संकलन गर्न सकिएको छैन।