चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ जितपुरमा बिहानको समयमा मर्निङवाकमा निस्किएका ६५ वर्षीय मंगले बोटेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान करिब ५ बजे जितपुर क्षेत्रमा मर्निङवाक गर्ने क्रममा बोटे एक्कासी बेपत्ता भएपछि खोजी गर्दा उनको शव फेला परेको हो।
बिहान करिब ८ बजे स्थानीयले बाघ देखेको खबर गरेपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। त्यसपछि नेपाली सेना, राष्ट्रिय निकुञ्जको प्रशासनिक टोली तथा स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले हात्तीको प्रयोग गरी खोजी कार्य तीव्र बनाएको थियो। खोजी गर्ने क्रममा अपराह्न ४ः२० बजे (१६ः२० बजे) घटनास्थलबाट करिब ४÷५ किलोमिटर पूर्वतर्फ रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरी क्षतविक्षत बनाएको अवस्थामा बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।
उक्त शव मंगले बोटेकै भएको उहाँका छोराले पहिचान गरेको प्रहरीले पुष्टि गरेको छ। घटनाको विस्तृत प्रकृति बुझ्न र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।