काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले नेपालमा आयात वा स्वदेशमै उत्पादन हुने विद्युतबाट सञ्चालन गरिने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सरकारले सहिद घोषणा गरेको छ। सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादव रहेका छन्। मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय स्थापना गर्न सहमति प्रदान गर्ने निर्णयसमेत गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी, पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।